धनगढी- एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) सुदूरपश्चिम प्रदेशले सदस्यता विस्तार अभियानलाई तीव्र बनाएको जनाएको छ। प्रदेश अध्यक्ष मोहनराज ओझाको नेतृत्वमा सञ्चालन भइरहेको अभियानले प्रदेशका विभिन्न जिल्लामा उत्साहजनक सहभागिता प्राप्त गरिरहेको छ।




अभियानअन्तर्गत धनगढीका करिब ३० वटा मन्टेसरी, प्रि–स्कुल तथा प्राथमिक विद्यालय अपेनमा आबद्ध भइसकेका छन्। त्यसैगरी महेन्द्रनगर, अत्तरिया, लम्की, टिकापुर, घोडाघोडी, गौरीगंगा, डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी तथा दार्चुलामा पनि सदस्यता विस्तार अभियानलाई निरन्तरता दिइएको छ।


प्रदेश अध्यक्ष मोहनराज ओझाले अपेनलाई मन्टेसरी तथा प्राथमिक विद्यालयहरूको साझा छाता संगठनका रूपमा अझ सुदृढ बनाउने उद्देश्यले अभियानलाई गाउँ–नगरसम्म विस्तार गरिएको जानकारी दिए। उनले शिक्षा क्षेत्रमा क्रियाशील संस्थापक, प्रिन्सिपल तथा शिक्षकहरूलाई अपेनमा आबद्ध भई संस्थागत एकता, अधिकार संरक्षण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहकार्य गर्न आग्रह गरे।
अपेन सुदूरपश्चिमका अनुसार सदस्यता विस्तार अभियानप्रति विद्यालयहरूको सकारात्मक आकर्षण देखिएको छ। अभियानले प्रदेशभर उत्साह सिर्जना गरेको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै विद्यालय संगठनमा आबद्ध हुने विश्वास व्यक्त गरिएको छ।




