महाधिवेशन स्थगित गरेर पार्टी एकताको पहल गरौँ : रमेश लेखक

सर्वोच्च अदालतको मुद्दाको निर्णयपछि मात्रै महाधिवेशनबारे टुंगो लगाउनुपर्ने लेखकको भनाइ

महेन्द्रनगर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निर्णय पर्खिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस भीमदत्तनगर कार्यसमितिले आइतबार महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता लेखकले पार्टीलाई विभाजनबाट जोगाउन दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगित गरेर आपसी संवाद र छलफलमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।

Navadurga sun

“पार्टी मिलाउने हो भने दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गरौँ र पार्टी मिलाउने बैठकमा छलफल गरौँ,” लेखकले भने।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई हटाइएपछि पार्टीभित्र विवाद उत्पन्न भएको र त्यसैबाट अहिलेको समस्या सुरु भएको दाबी गरे। महाधिवेशन नै नरोक्ने तर अन्य विषयमा मात्रै छलफल गरेर पार्टीभित्रको विवाद समाधान हुन नसक्ने उनको भनाइ थियो।

“महाधिवेशन नरोक्ने, अरू–अरू कुरा गरेर कसरी मिल्छ ?” लेखकले प्रश्न गरे।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न दुवै पक्षले एक–अर्कासँग गम्भीरतापूर्वक छलफल गर्नुपर्ने र पार्टी विभाजन रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।

यसैगरी, फरक प्रसङ्गमा नेता लेखकले रसुवामा आएको बाढीका कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए। प्राकृतिक विपद्को सामना गर्न सरकार, राजनीतिक दल तथा आम नागरिक सबै एकजुट भएर अघि बढ्नुपर्ने उनले धारणा राखे।

लेखकले विपद्का बेला राजनीतिक मतभेदभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले सहकार्य गर्नुपर्ने बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...