देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेका कारण देशका अधिकांश भू–भागमा बदली तथा वर्षाको अवस्था देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने जनाइएको छ।
यी क्षेत्रमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा भू–क्षय र नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
मौसम तथा जलविज्ञानसम्बन्धी पछिल्लो विवरणका लागि मौसम पूर्वानुमान महाशाखाले आफ्नो वेबसाइटमा मौसम तथा बाढीसम्बन्धी चेतावनी अद्यावधिक गरिरहेको छ।
यसैबीच, मौसमको अवस्था हेरेर लामो यात्रा गर्दा विशेष सावधानी अपनाउन, पहाडी सडक तथा नदी–खोला आसपासका क्षेत्रमा सतर्क रहन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न आग्रह गरिएको छ।
