धनगढी- कैलाली र कञ्चनपुरबाट प्रहरीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका ४ लाख ४७ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।
कैलालीमा शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका अवैध सामान बरामद गरी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद सामानमा चिनी, मिठाई, टाई, बेल्ट, कस्मेटिकलगायतका विभिन्न सामग्री रहेका छन्। बरामद सामानको अन्दाजी मूल्य ४ लाख १४ हजार ८ सय ८२ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, नहररोडबाट पनि प्रहरीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्ती बरामद गरेको छ।
शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नहररोड क्षेत्रमा बेवारिसे अवस्थामा रहेको अन्दाजी ३२ हजार ७ सय रुपैयाँ बराबरको सुर्ती फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीले दुवै जिल्लाबाट बरामद भएका सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।
