बाजुरामा पहिरोको वितण्डा : आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे

बडीमालिका–९ मा घरभित्रै पस्यो पहिरो, मानवीय क्षति भने भएन

बाजुरा- अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। घरमाथिबाट खसेको पहिरो बस्तीमा पसेपछि स्थानीयका घर तथा गोठमा क्षति पुगेको हो।

पहिरोबाट मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घर प्रभावित भएका छन्। तीमध्ये केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य घरमा समेत ठूलो क्षति पुगेको बताइएको छ।

Navadurga sun

पहिरोमा परेर मोती उखेडाका दुईवटा गोरु मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने भएको छैन।

पहिरो घरभित्रै पस्दा प्रभावित परिवारका भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका घरायसी सामग्रीमा समेत क्षति पुगेको छ। घरमा पहिरो पसेपछि प्रभावित परिवारहरू थप जोखिममा परेका छन्।

अविरल वर्षाका कारण बाजुराका अन्य विभिन्न स्थानमा समेत बाढी, पहिरो तथा डुबानबाट क्षति भएको प्रारम्भिक विवरण प्राप्त भइरहेको प्रहरीले जनाएको छ। जिल्लाका अन्य क्षेत्रमा कहाँ–कति क्षति भयो भन्नेबारे यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...