बाजुरा- अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा बाजुराको जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।
शनिबार रातिदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्यसैगरी बडीमालिका नगरपालिका–८ को राप्का तथा वडा नं. ६ को जडाङ्गालगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन प्रहरी टोली परिचालन गरिएको छ । बडीमालिका नगरपालिका र सडक विभागको जेसीबी प्रयोग गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्यतर्फ जाने सवारी साधन बाटोमै रोकिएका छन् ।
सडक खुलाउन काम भइरहे पनि वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउने कार्यमा समेत चुनौती देखिएको छ । स्थानीय प्रशासनले यात्रुलाई मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
