पाँच वर्षअघिको बाढीको घाउ निको नहुँदै फेरि विपत्ति, खेतीयोग्य जमिन बगरमा परिणत; स्थानीय भन्छन्– ‘खेत रहेन, अब घर पनि सुरक्षित छैन’
बाजुरा- बाजुराको वीरेखोला झरना क्षेत्रमा आएको भीषण बाढीका कारण २३ परिवार विस्थापित भएका छन्। शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा एक्कासी ठूलो बाढी आएपछि बडीमालिका नगरपालिका–६ र ८ को सीमाक्षेत्रका परिवार प्रभावित भएका हुन्।

स्थानीयका अनुसार माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको थियो। उक्त ताल फुटेपछि वीरेखोलामा एक्कासी ठूलो बाढी आएको हो।
स्थानीय लालसिंह साउदका अनुसार शुक्रबार राति करिब ८ बजे अविरल वर्षापछि अचानक ठूलो बाढी आएको थियो। बाढी बढेपछि स्थानीय घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ लागेका थिए।
“अहिलेसम्म न खाना छ, न त बास,” साउदले भने।
४१ परिवार प्रभावित
बाढीबाट मानवीय क्षति नभए पनि गाउँको बीचबाटै ठूलो बाढी बगेपछि २३ परिवार विस्थापित भएका छन्। थप १८ परिवारसमेत जोखिममा रहेको स्थानीयले बताएका छन्।
बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालका अनुसार वीरेखोलाका ४१ परिवार बाढीबाट प्रभावित भएका छन्।
बाढीले एक माछा पोखरी, दुई वटा पानीघट्ट तथा वीरेखोला झरनाको टिकट काउन्टरमा समेत क्षति पुर्याएको छ। धानबाली बगाएपछि खेतीयोग्य खेत बगरमा परिणत भएको छ।
बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बडुवालले जानकारी दिए।
रेडक्रसद्वारा त्रिपाल सहयोग
बाढीबाट विस्थापित परिवारका लागि नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले तत्काल त्रिपाल उपलब्ध गराएको छ।
रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपीन विष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको छ।
पाँच वर्षअघिको बाढीको डर फेरि फर्कियो
वीरेखोलाका बासिन्दाका लागि अहिलेको बाढी नयाँ विपत्ति भने होइन। उनीहरू विगत पाँच वर्षदेखि नै बाढीपहिरोको जोखिममा बस्दै आएका छन्।
२०७७ साल साउन २५ गते बुढीगङ्गा नदीमा आएको बाढीले यहाँको ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन बगाएको थियो। पुस्तौँदेखि खेती गर्दै आएका स्थानीयको जमिन बालुवा र ढुङ्गाले पुरिएपछि ठूलो क्षति भएको थियो।
त्यतिबेला बाढी रोकिएर नदी आफ्नो पुरानै धारमा फर्किए पनि स्थानीयको मनमा बसेको त्रास भने हट्न सकेन। अहिले वीरेखोलामा आएको बाढीले पाँच वर्षअघिको त्यही डरलाई फेरि बल्झाइदिएको छ।
स्थानीय कली साउद भन्छिन्, “एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ। नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो सङ्कट भएको छ।”
सुन्दरताभित्र लुकेको बाढीको त्रास
सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको वीरेखोला झरना आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो। झरनाको आँगनमै बुढीगङ्गा नदी बगिरहेको छ।
सामान्य अवस्थामा झरना र नदीको दृश्य पर्यटकका लागि आकर्षक देखिन्छ। वर्षायाममा भने यही प्राकृतिक सुन्दरताले स्थानीयमा त्रास पैदा गर्ने गरेको छ।
वर्षा बढेसँगै नदीको बहाव तीव्र हुने र कटान बढ्ने भएकाले स्थानीयहरू घरखेत जोगिने हो कि होइन भन्ने चिन्तामा रहने गरेका छन्। बाजुराका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला अछामबाट समेत झरना अवलोकन र फोटो–भिडियो खिच्न पर्यटक आउने गरेका छन्।
स्थानीय मतिकला खड्का भन्छिन्, “घरआँगनमै बुढीगङ्गा नदी बग्छ, गाउँकै बीचमा वीरेखोला बगिरहेको छ। अगाडिबाट नदीको कटान र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ।”
उनका अनुसार यसअघि पटकपटक आएको बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गरिसकेको छ।
“अब कुन दिन घरसँगै हामीलाई पनि बगाउने हो भन्ने डर छ,” उनले भनिन्।
‘खेत रहेन, अब घर पनि सुरक्षित छैन’
कृषिमा निर्भर परिवारका लागि खेत केवल जमिनको टुक्रा होइन, परिवार पाल्ने मुख्य आधार हो। २०७७ सालको बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गरेपछि धेरै परिवारले आफ्नो उत्पादनको आधार गुमाएका थिए।
अहिले फेरि वीरेखोलाको बाढीले घरबासमै जोखिम बढाएपछि स्थानीयको समस्या झन् गम्भीर बनेको छ।
स्थानीय कमला साउँद भन्छिन्, “खेत रहेन, अब घर पनि सुरक्षित छैन। कहाँ गएर बस्ने? अन्त कतै ठाउँ छैन।”
दीर्घकालीन समाधानको पर्खाइमा स्थानीय
पटकपटक बाढी र नदी कटानको जोखिम झेलिरहेका वीरेखोलाका स्थानीयका लागि अहिलेको विपत्तिले फेरि गम्भीर प्रश्न खडा गरेको छ—पहिले खेत गुम्यो, अब घर पनि गुम्ने हो कि?
तत्कालका लागि २३ परिवारलाई सुरक्षित स्थानमा सारिए पनि वीरेखोलाको दीर्घकालीन जोखिम भने कायमै रहेको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बताए।
यता सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीपछि भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने तथा घटनाबारे थप बुझ्ने काम भइरहेको जानकारी दिएका छन्।
स्थानीयले भने तत्कालीन राहतसँगै नदी कटान नियन्त्रण, जोखिमयुक्त बस्तीको संरक्षण तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारी निकायबाट ठोस पहल हुनुपर्ने माग गरेका छन्।
