धनगढी- विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि कैलाली सुनचाँदी व्यवसायी संघले ५ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ।
संघका अध्यक्ष यदु सुनारका अनुसार संघले उपलब्ध गराएको उक्त रकम नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको संघले जनाएको छ।
संघले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको बताउँदै सहयोगमार्फत आफ्नो सामाजिक प्रतिबद्धता प्रस्तुत गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
