अत्तरियाबाट ‘नमस्ते अत्तरिया यातायात’को सेवा सुरु

अत्तरिया- ‘हाम्रो सेवा, तपाईंको यात्रा, हरेक पल सुरक्षित साथ’ भन्ने नारासहित कैलालीको अत्तरियामा नमस्ते अत्तरिया यातायात प्रालिले औपचारिक रूपमा यातायात सेवा शुभारम्भ गरेको छ।

गोदावरी नगरपालिका–२ मा प्रधान कार्यालय रहने गरी स्थापना भएको प्रालिको सोमबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री जानकी कुँवरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।

Navadurga sun

उद्घाटन कार्यक्रममा प्रालिका अध्यक्ष तेजसिंह ठगुन्नाले २०८३ साल भदौ १ गते दर्ता प्रमाणपत्र प्राप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार हाल विभिन्न रुटमा सञ्चालनका लागि १४ वटा सवारीसाधन दर्ता भएका छन्।

प्रालिले धनगढी–टीकापुर रुटमा दुईवटा बस, धनगढी–महेन्द्रनगरमा एउटा बिगर, नेपालगञ्जका लागि चारवटा ईभी हाइस, टीकापुरका लागि एउटा ईभी हाइस तथा धनगढी–जोगबुडा–डडेल्धुरा रुटमा दुईवटा हाइस सञ्चालन गरिरहेको छ।

त्यस्तै, धनगढी–गडसेरा र धनगढी–खडेउली–मान्नाकापडी रुटमा दुईवटा बोलेरो पिकअप तथा धनगढी–चौखुट्टे–चौरपाटी रुटमा एउटा बोलेरो सञ्चालनमा रहेको अध्यक्ष ठगुन्नाले बताए। आगामी दिनमा सवारीसाधन थप गर्दै सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

अध्यक्ष ठगुन्नाले अत्तरिया बसपार्कलाई अन्तर्राष्ट्रिय बसपार्कका रूपमा घोषणा गरिए पनि अझै व्यवस्थित हुन नसकेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए। बसपार्कको उचित व्यवस्थापनसँगै यातायात व्यवसायीमाथि दोब्बरदेखि तेब्बरसम्म करको भार परेको भन्दै उनले व्यवसायीमैत्री नीति बनाउन सरकारसँग आग्रह गरे।

उनले ट्राफिक व्यवस्थापन, सडकमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण तथा दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रमकी प्रमुख अतिथि राज्यमन्त्री कुँवरले नमस्ते अत्तरिया यातायात प्रालिको सफलताको शुभकामना दिँदै नीति, विधि र योजनाका साथ अघि बढ्न व्यवसायीलाई आग्रह गरिन्। चुनौतीको सामना गर्दै निरन्तर मेहनत गरे सफलता प्राप्त गर्न सकिने उनको भनाइ थियो।

अत्तरिया बसपार्कको भौतिक पूर्वाधार विकास तथा व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै राज्यमन्त्री कुँवरले यातायात क्षेत्रको सुधारका लागि सरकार र व्यवसायीबीच छलफल भइरहेको जानकारी दिइन्। उनले सबै यातायात प्रालिलाई आपसी समन्वय र सहकार्यका साथ अघि बढ्न आग्रह गरिन्।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महरा र ट्राफिक राजमार्ग व्यवस्थापन कार्यालयका निमित्त प्रमुख कटक कुँवरले चालक तथा सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै यात्रुलाई सुरक्षित, सहज र मर्यादित सेवा दिन आग्रह गरे।

कार्यक्रममा विभिन्न यातायात प्रालिका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। सो अवसरमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा प्रालिका अध्यक्ष ठगुन्ना, महासचिव कृष्णसिंह विष्टलगायत पदाधिकारीले उपस्थित अतिथि तथा सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...