भदौ मसान्तभित्रै सुदूरपश्चिमको बजेट ल्याउने मुख्यमन्त्री भट्टको दाबी

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भदौ मसान्तभित्रै फास्ट ट्र्याकबाट प्रदेश सरकारको बजेट ल्याउने बताएका छन्।

सत्तासाझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले बजेट निर्माणका लागि आवश्यक नीतिगत तयारी पूरा भइसकेको बताएका हुन्।

Navadurga sun

उनका अनुसार मन्त्रालयहरूलाई बजेट निर्माणका लागि दिने मार्गदर्शनसमेत तयार भइसकेको छ। मुख्यमन्त्रीको तर्फबाट मन्त्रालयहरूलाई दिइने नीतिगत निर्देशनको मस्यौदा तयार गर्ने काम भइरहेको उनले जानकारी दिए।

मुख्यमन्त्री भट्टले तयार भएका मार्गदर्शनका आधारमा मन्त्रालयहरूले बजेट निर्माण गर्न धेरै समय नलाग्ने भएकाले भदौ मसान्तभित्रै बजेट ल्याउन सम्भव रहेको बताए।

प्रदेश सरकारको बजेटमा देखिएको बेथिति सामान्य प्रक्रियाबाट समाधान गर्न सकिने अवस्था नरहेकाले न्यूनतम साझा कार्यक्रम तयार गर्न केही समय बढी लागेको उनको भनाइ छ। कार्यक्रम निर्माणका क्रममा शब्द–शब्द, वाक्य–वाक्य र बुँदा–बुँदामा छलफल गरिएको उनले बताए।

प्रदेश सरकारको गरिमा कायम राख्ने, प्रदेश सरकारको औचित्य र उपादेयता पुष्टि गर्ने तथा ‘प्रदेशले केही गरिरहेको छ’ भन्ने अनुभूति नागरिकमा गराउने उद्देश्यका साथ न्यूनतम साझा कार्यक्रम तयार गरिएको मुख्यमन्त्री भट्टले बताए।

यसअघि अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसक्दा सुदूरपश्चिम प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यताको अवस्थामा छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको थियो। त्यतिबेला बजेट पुनर्लेखन गरी भदौ ३१ गते प्रदेशसभामा प्रस्तुत गरिएको थियो।

यसपटक पनि प्रदेश सरकारले बजेट शून्यताको अवस्था अन्त्य गर्दै भदौ मसान्तभित्रै नयाँ बजेट ल्याउने तयारी अघि बढाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...