बैतडी- बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि बैतडीको डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको उच्च जोखिममा परेका छन्।
बस्तीभन्दा करिब ५०० मिटरमाथि रहेको खेत तथा जमिनमा ठूलो दरार देखिएपछि स्थानीय बासिन्दामा पहिरोको त्रास बढेको हो। पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले जमिन थप भासिन सक्ने र जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन्।

स्थानीय लक्ष्मण जागरीका अनुसार लगातार पानी परिरहेकाले बस्तीका बासिन्दा त्रसित अवस्थामा छन्। “जमिन चिराचिरा परेको छ, पानी परिरहेकाले झन् डर लागिरहेको छ,” उहाँले बताउनुभयो।
डिलाशैनी–१ का वडा अध्यक्ष कृष्णकुमार धामीले पनि बस्तीमाथिको जमिन फुटेर चिराचिरा परेको र जोखिम दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो।
जोखिमको अवस्था बुझ्न आइतबार प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीसहितको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको वडा अध्यक्ष धामीले जानकारी दिनुभयो।
पहिरोको जोखिममा गोरेदत्त भट्ट, कृष्णदत्त भट्ट, महावीर धामी, दूरा धामी, जसिदत्त भट्ट, मनिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट, धौले खत्री, कमल खत्री, जसे खत्री, कैले खत्री, प्रकाश धामी, धनबहादुर खत्री, ईश्वरदत्त भट्ट र धर्मराज भट्टको घर रहेका छन्।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले जोखिममा रहेका परिवारलाई आफन्तको घर वा अन्य सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताउनुभयो।
जमिनमा देखिएको ठूलो दरारका कारण वर्षा थप बढेमा जोखिम अझ गम्भीर बन्न सक्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातको समयमा विशेष सावधानी अपनाउन तथा जमिन चिरिएको क्षेत्रमा नजान स्थानीय प्रशासनले समेत आग्रह गरेको छ।
