धनगढी- होटल संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न संघको प्रथम साधारण सभाले नयाँ कार्यसमिति गठन गर्दै भट्टलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट, उपाध्यक्षमा पदम भण्डारी र महासचिवमा धर्क शाह निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा शारदा शाह, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता, चन्द्रप्रकाश ओली, पदम विक्रम सिंह, भुवन सिंह भण्डारी, नागेन्द्र खड्का, दिपेश शाह, पशुपति कुँवर र बसन्ता भण्डारी निर्वाचित भएका छन्।
साधारण सभामा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।
अध्यक्ष शाहले पर्यटन क्षेत्रको विकासका लागि दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै मानव संसाधन विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए।
“मानवीय जनशक्ति विकासमा तालिम दिएर योजना बनाएर अगाडि बढ्दा पर्यटन क्षेत्रलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सजिलो हुन्छ,” उनले भने।
नवनिर्वाचित अध्यक्ष प्रकाशचन्द्र भट्टले आफूलाई दिइएको जिम्मेवारी इमानदारी र सक्रियताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सुदूरपश्चिम प्रदेशको होटल तथा पर्यटन व्यवसायको विकास, व्यवसायीका समस्या समाधान तथा पर्यटन प्रवर्द्धनका लागि समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।
सुदूरपश्चिममा पर्यटनको प्रशस्त सम्भावना रहेकाले होटल तथा पर्यटन व्यवसायलाई व्यवस्थित, व्यावसायिक र प्रवर्द्धनमुखी बनाउन प्रदेश समिति सक्रिय भएर अघि बढ्ने उनको भनाइ छ।
