मानसिक रोग र टेपवर्मबाट पीडित गणेशलाई उपचारसँगै आर्थिक सहयोगको खाँचो
‘रोगी भएर बाँच्नुपर्यो, मर्न पनि सकिँदैन’ : गणेशलाई उपचारसँगै छोराछोरीको भविष्यको चिन्ता
लक्ष्मी भट्ट/अत्तरिया- पुनर्वास अमरबस्तीका ४६ वर्षीय गणेश सिंह विगत दुई वर्षदेखि मानसिक रोग र टेपवर्मको समस्यासँग संघर्ष गरिरहेका छन्। लामो समयदेखि उपचार गराउँदै आए पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि अहिले उनी उपचार खर्च जुटाउन र परिवारको दैनिक गुजारा चलाउनसमेत कठिन अवस्थामा पुगेका छन्।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका सिंहले ऋण–सापटी गरेर निसर्ग अस्पतालमा दुई महिनासम्म उपचार गराएका थिए। त्यसपछि थप उपचारका लागि काठमाडौं पुगेका उनले त्यहाँ पनि करिब दुई महिना उपचार गराए। तर निरन्तर उपचार र औषधि सेवनका बाबजुद उनको समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।

सिंहको बोल्ने शक्तिसमेत कमजोर हुँदै गएको छ। नियमित आम्दानीको स्रोत नभएको परिवारमा दुई छोरा छन्। १२ वर्ष र ८ वर्षका छोराछोरीको पालनपोषण तथा शिक्षाको जिम्मेवारीसमेत सिंहकै परिवारमाथि छ। तर उनको स्वास्थ्य अवस्था र कमजोर आर्थिक स्थितिका कारण छोराछोरीको भविष्यसमेत अन्योलमा परेको छ।
“रोगी भएर बाँच्नुपर्यो, मर्न पनि सकिँदैन। म कहिले ठीक होला ? मेरा छोराछोरीलाई कसरी तथा कसले सहयोग गरी हुर्काउला ?” सिंहले आफ्नो पीडा सुनाउँदै भने, “मेरा १२ वर्ष र ८ वर्षका छोराछोरीको भविष्य पनि शिक्षाको अभावमा सिद्धिने जस्तो छ। साँझ–बिहान हातमुख जोड्ने समस्या एकातिर छ।”
काठमाडौंमा उपचार गराउँदा केही सहयोग प्राप्त भएको सिंहले बताए। तर उपचार निरन्तर गर्नुपर्ने, औषधि खर्च तथा घरपरिवारको दैनिक आवश्यकता धान्नुपर्ने भएपछि उनलाई थप आर्थिक सहयोगको आवश्यकता परेको छ।
आफ्नो दयनीय अवस्थाका कारण सिंहले समाजका सहयोगी व्यक्ति, संघसंस्था, स्थानीय तह तथा देश–विदेशमा रहेका नेपालीहरूसँग उपचार र छोराछोरीको शिक्षाका लागि सहयोग गरिदिन अपिल गरेका छन्।
गणेशको परिवारका अनुसार सहयोग गर्न इच्छुक व्यक्तिहरूले कुमारी बैंकमा रहेको खाता नम्बर 1840331959100001 मा आर्थिक सहयोग गर्न सक्नेछन्।
उनको उपचारसँगै दुई छोराछोरीको शिक्षा र भविष्यका लागि प्राप्त हुने सहयोगले परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
