कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

कैलाली- कैलालीका छुट्टाछुट्टै तीन स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिक सोमबार साँझ करिब ८ः३० बजे गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–५ का १६/१७ वर्षीय अमर सिंह ऐरले चलाएको गोरुगाडासँग धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी रेफर गरिएकोमा राति १०ः५० बजे मृत घोषणा गरिएको थियो।

Navadurga sun

त्यस्तै, कैलारी गाउँपालिका–७ स्थित रामपुरमा हुलाकी राजमार्गमा राति करिब २ः३० बजे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ। भजनी नगरपालिका–९ का ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँका २६ वर्षीय शिवलाल चौधरी घाइते भएका थिए। घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ।

यसैगरी, टीकापुरमा राति करिब १० बजे मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५३ वर्षीय लक्ष्मीराम थारू गम्भीर घाइते भएका थिए। १९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते थारूलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तीनवटै दुर्घटनामा परी कैलालीमा एकै रात तीन जनाले ज्यान गुमाएका छन्।

ADD Khali jpg
Loading...