धनगढी- धनगढी उपमहानगरपालिकाले दसैँका दिन नागरिकलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ।




उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार धनगढीको ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट निःशुल्क यातायात सेवा सञ्चालन गरिनेछ।







नगर प्रहरीमार्फत जिप तथा मोटरसाइकल प्रयोग गरी सेवा उपलब्ध गराइने मेयर हमालले जानकारी दिएका छन्। उनले दसैँका दिन आवतजावत गर्नुपर्ने नागरिकलाई निःशुल्क यातायात सेवाको लाभ लिन आग्रह गरेका छन्।
टीका थाप्न आफन्तको घरमा जानुपर्ने तर आफ्नै सवारीसाधनको सुविधा नभएका नागरिकलाई लक्षित गरी सेवा सञ्चालन गर्न लागिएको मेयर हमालले बताए।
उनका अनुसार दसैँका दिन नागरिकलाई सहज रूपमा आवतजावत गर्न सहयोग पुर्याउने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको हो।




