प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।




सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने पर्व भएको उल्लेख गरेका छन्। उनले पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुर र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा विजयादशमी मनाइने बताएका छन्।







प्रधानमन्त्री शाहले विजयादशमीले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन्। उनले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
‘इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ,’ उनले सन्देशमा भनेका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न आवश्यक रहेको उनको भनाइ छ।
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने तथा टाढिएका आफन्त र साथीभाइबीच आत्मीयता बढाउने अवसर प्रदान गर्ने उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गरेका छन्।




