नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लास, उमङ्ग र उत्साहका साथ मनाइँदै छ। आज मान्यजन तथा ज्येष्ठ सदस्यको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा रहेको छ।




नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजयादशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन र बिहान १० बजेर २६ मिनेटमा टीका लगाउन उत्तम साइत रहेको छ। समितिले टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने जनाएको छ।





घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका ज्येष्ठ सदस्य तथा मान्यजनबाट लगाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामनासहित आशीर्वाद लिने गरिन्छ। दसैँको अवसरमा टाढा रहेका परिवारका सदस्य, आफन्त तथा इष्टमित्र एकै ठाउँमा भेला भई आपसी प्रेम, सद्भाव र मेलमिलाप साटासाट गर्ने चलन छ।


विजयादशमीको धार्मिक तथा पौराणिक महत्त्व मार्कण्डेय पुराणअन्तर्गतको ‘देवीमाहात्म्य’ मा विशेष रूपमा वर्णन गरिएको छ। धार्मिक मान्यताअनुसार यस दिन देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेका थिए। त्यसैले विजयादशमीलाई असत्यमाथि सत्य, अधर्ममाथि धर्म र अन्यायमाथि न्यायको विजयका रूपमा लिने गरिन्छ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने पहेँलो जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ। यस दिन देवीलाई अर्पण गरिएको प्रसाद, टीका र जमरा ग्रहण गर्दै परिवारका सदस्यहरूले सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्ने परम्परा छ।
विजयादशमीका अवसरमा मान्यजनले आफ्ना सन्तान तथा आफन्तलाई दीर्घायु, धन, ऐश्वर्य, शक्ति, ज्ञान, कीर्ति र सद्बुद्धिको कामना गर्दै विभिन्न संस्कृत श्लोकमार्फत आशीर्वाद दिने चलन छ। ‘आयु द्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे’ लगायतका आशिषमा अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो ख्याति, श्रीरामको जस्तो विजय क्षमता, कर्णको जस्तो दानशीलता र युधिष्ठिरको जस्तो सत्यनिष्ठाको कामना गरिन्छ।
त्यसैगरी, ‘सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके’ जस्ता देवी स्तुतिमार्फत भगवती दुर्गासँग कल्याण, रक्षा, सुख र समृद्धिको प्रार्थना गरिन्छ।
दसैँ केवल धार्मिक पर्व मात्र नभई पारिवारिक एकता, सामाजिक सद्भाव, आपसी सम्मान र भाइचाराको भावना अभिवृद्धि गर्ने महत्त्वपूर्ण सांस्कृतिक उत्सव पनि हो। यस पर्वले समाजमा प्रेम, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्दै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउँदै आएको छ।




