काठमाडौं- प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।




महानवमीका अवसरमा दशैंघर तथा विभिन्न देवी मन्दिर र शक्तिपीठमा विशेष पूजा आराधना गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने परम्परा छ । यस दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्नुका साथै विधिपूर्वक पूजा गरिन्छ ।





महानवमीका दिन पशुबलि दिने परम्परा रहे पनि बलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवललगायतका वस्तु प्रतीकात्मक बलिका रूपमा चढाउने गर्छन् । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलनसमेत छ । अधिकांश स्थानमा महाष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने परम्परा पनि रहेको छ ।


मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन् । यही धार्मिक मान्यताका कारण महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।
नवरात्रको नवौँ दिन आज देशभरका शक्तिपीठमा पूजाआराधना तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी राखिएको जमरा तथा पूजा सामग्रीसहित दशैंघरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । यस अवसरमा कन्यालाई देवीको प्रतीक मानी पूजा गर्ने र दक्षिणा दिने परम्परा पनि छ । साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत पूजा आराधना गरिन्छ ।
महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँसहित कोतपूजा तथा निशानापूजा गर्ने चलन छ । हनुमानढोका दरबारलगायत नेपाली सेनाका ब्यारेक तथा गुल्ममा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गरिन्छ ।
काठमाडौंस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन महानवमीका अवसरमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार आज बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म भक्तजनका लागि मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।
धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको महानवमी पर्वले नेपाली समाजमा दुर्गा भवानीप्रतिको श्रद्धा र भक्तिभावलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।




