हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको छ। हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रमा थोरै स्थानमा तथा मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
