अत्तरिया- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राजनीतिक पहल अघि बढाउने निर्णय गरेको छ। बिहीबार संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले अन्य दलहरूसँग संवाद गरी नेकपा नेतृत्वमा सरकार गठनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो।


बैठकले वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै दीर्घकालीन असर पर्ने कुनै पनि महत्त्वपूर्ण नीति तथा निर्णय तत्काल नगर्न अनुरोध गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तारुढ दलहरूबीच विवाद चर्किएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका थिए। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह प्रदेश सभामा अल्पमतमा परेका छन्।
यसबीच मुख्यमन्त्री शाहले बजेट पारित गराउन नेकपासँग सहयोग मागे पनि नेकपाले वर्तमान राजनीतिक अवस्थामै सहयोग गर्न नसकिने स्पष्ट गर्दै नयाँ सरकार गठनको पहल गर्ने संकेत दिएको छ। नेकपाको पछिल्लो निर्णयसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तनको सम्भावना थप बलियो बनेको छ।
