जेनजी शहीदहरूको सम्झनामा आज देशभर सार्वजनिक बिदा
जेनजी आन्दोलन भएको एक वर्ष पूरा, २३ भदौलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाइँदै
काठमाडौं- जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै प्रत्येक वर्ष यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देशभर सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था लगायतमा सार्वजनिक बिदा दिइएको हो।

जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरमा देखिएको असमानताविरुद्धको व्यापक आवाजमा परिणत भएको थियो।
२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा भोलिपल्ट अर्थात् २४ भदौमा देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो।
दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा समेत आगजनी र तोडफोडका घटना भएका थिए।
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको योगदान र बलिदानको स्मरण गर्दै २३ भदौलाई शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो। आज देशभर विभिन्न कार्यक्रममार्फत जेनजी आन्दोलनका शहीदहरूको सम्झना गरिँदैछ।
