अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–७, लालपुरस्थित श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको छैटौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सोही अवसरमा समितिको नवनिर्मित दुई कोठे पक्की भवनको पनि उद्घाटन गरिएको छ ।



समितिका अध्यक्ष दीर्घबहादुर साउँदको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए ।



कार्यक्रम उद्घाटनमा बोल्दै नगरप्रमुख भट्टले पछिल्लो समय खानेपानी क्षेत्रमा विभिन्न चुनौती थपिँदै गएको उल्लेख गर्दै भूगर्भीय जलस्रोतको सतह घट्दै जाँदा विशेषगरी गर्मीयाममा खानेपानी वितरणमा समस्या उत्पन्न हुने अवस्था सिर्जना भएको बताए ।
उनले दीर्घकालीन समाधानका लागि पानीका मुहान संरक्षण तथा स्रोत व्यवस्थापनमा अहिलेबाटै योजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । स्वास्थ्य, शिक्षा र खानेपानी नागरिकका आधारभूत आवश्यकता भएकाले स्थानीय सरकार यी क्षेत्रमा प्राथमिकताका साथ अघि बढिरहेको उनले बताए ।
नगरप्रमुख भट्टले संस्थाको हित र विकासका लागि सर्वपक्षीय तथा सर्वदलीय सहमतिमा नेतृत्व चयन गर्न आग्रह गर्दै खानेपानी व्यवस्थापनमा समितिका पदाधिकारी र कर्मचारीसँगै उपभोक्ताको पनि समान जिम्मेवारी हुने बताए । उनले समयमै महसुल तिर्ने बानी विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष साउँदले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त अवधिमा २५० भन्दा बढी स्थानमा मुख्य तथा शाखा पाइपलाइन मर्मत गरिएको जानकारी दिए । अघिल्लो वर्षको तुलनामा २१८ नयाँ उपभोक्ता थपिएका छन् भने सञ्चालनमा रहेका धाराको संख्या १ हजार ३७९ बाट बढेर १ हजार ६५२ पुगेको छ ।
उनका अनुसार गोदावरी नगरपालिका–६ बाट १ लाख, वडा नम्बर ७ बाट २ लाख र संस्थाको १ लाख ७४ हजार ५२० रुपैयाँ गरी कुल ३ लाख ७४ हजार ५२० रुपैयाँको लागतमा ओभरहेड ट्यांकीमा रंगरोगन गरिएको छ । दैनिक पानीको गुणस्तर परीक्षण, प्रत्येक ६ महिनामा घुम्ती प्रयोगशाला मार्फत पानी परीक्षण तथा ३०० मिटर शाखा पाइपलाइन विस्तार लगायतका कार्य पनि सम्पन्न भएका छन् ।
संस्थाले न्यूनतम खानेपानी महसुल २० रुपैयाँ घटाएर १३० रुपैयाँ कायम गरेको जनाएको छ। साथै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ३० लाख रुपैयाँ लागतको रिजर्भ ट्यांकी निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भएको र आगामी दिनमा सञ्चालनमा ल्याइने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अध्यक्ष साउँदले कार्यालय भवन अभाव, उपभोक्ताबाट समयमै महसुल संकलन हुन नसक्नु तथा कृषि क्षेत्रमा विस्तार गरिएका पाइपलाइन क्षतिग्रस्त हुँदा मर्मतमा कठिनाइ हुनेजस्ता चुनौती पनि औँल्याए। आगामी योजनाअन्तर्गत खानेपानी ऐन तथा विनियम लागू गर्ने, दोहोरो पाइपलाइन विस्तार गर्ने, रिजर्भ ट्यांकी सञ्चालनमा ल्याउने तथा तेस्रो बोर सञ्चालनका लागि पहल गर्ने कार्यक्रम रहेको उनले बताए।
कार्यक्रममा कोषाध्यक्ष खगेन्द्रराज पनेरुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले १ करोड १६ लाख २८ हजार १२० रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिए। विभिन्न खर्च कटाएर संस्थाले १८ लाख ७१ हजार ९२८ रुपैयाँ बचत गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। संस्थाको आम्दानी पानी महसुल, विलम्ब शुल्क, नयाँ धारा जडान, धारा नामसारी तथा बैंक ब्याजबाट भएको जनाइएको छ।
यसैबीच, साधारण सभाकै अवसरमा समितिको नवनिर्मित दुई कोठे पक्की भवनको उद्घाटन नगरप्रमुख वीरेन्द्र भट्टले गरेका छन्। नगरपालिकाको ८ लाख रुपैयाँ र समितिको ६ लाख ११ हजार १९५ रुपैयाँ गरी कुल १४ लाख ११ हजार १९५ रुपैयाँको लागतमा भवन निर्माण गरिएको अध्यक्ष साउँदले जानकारी दिए।
उनका अनुसार कार्यालय सञ्चालनका लागि पर्याप्त भौतिक संरचना नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको थियो। नयाँ भवन निर्माणसँगै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।




