लक्ष्मी भट्ट/अत्तरिया– गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा रहेको सृजनशील महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ साधारण सभा शनिबार संस्थाको आफ्नै भवनमा भव्य रुपमा सम्पन्न भएको छ ।



कार्यक्रम संस्थाका अध्यक्ष भावना खड्काको अध्यक्षता तथा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।



त्यस्तै कार्यक्रममा माननीय तुलसी देवकोटा, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, जिल्ला सहकारी संघका अध्यक्ष फणि सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको सञ्चालन व्यवस्थापक गौरी चौधरीले गर्नुभएको थियो भने उपाध्यक्ष रजनी चौधरीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।


प्रमुख अतिथि सरस्वती खड्काले सहकारी महिलाको नेतृत्व र क्षमताको उत्कृष्ट उदाहरण भएको बताउँदै आफू राज्यमन्त्री रहेको अवधिमा प्रदेश सरकार तर्फबाट २५ लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले सामाजिक भेदभाव, मदिरा दुर्व्यसन तथा आर्थिक अवसरको अभावका कारण महिला पीडित हुने अवस्था अन्त्य गर्न सहकारी महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले बिउ उत्पादन, मौरीपालन, च्याउ उत्पादन, साना सिँचाइ तथा ८० बिघामा आलु उत्पादन कार्यक्रम सञ्चालन गर्न सहकार्य गरिने जानकारी दिनुभयो ।

संस्थाले ४५ जना महिला शेर सदस्य दिदीबहिनीहरूको ४ हजार ५ सय रकमबाट साविक श्रीपुर गाविसको ९ वडालाई कार्यक्षेत्र बनाई सुरु गरेको यस संस्था हाल गोदावरी नगरपालिकाको सबै महिलाहरूलाई लक्षित गरी ७ सय ६४ समूह मा ३ हजार २ सय १ जना सदस्यहरु र संस्थामा ७ जना कर्मचारीहरू रहेका छन् ।
आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म शेर पूँजी ३ करोड ४३ लाख ७८ हजार ७ सय रहेको छ । यस बर्ष निक्षेप रु.२१ करोड ८४ लाख ४६ हजार ७ सय ७८ रहेको छ । संस्थाले १ हजार ३ सय ६४ जना शेर सदस्यहरूलाई विभिन्न उद्देश्यहरूमा २३ करोड ५७ लाख ५३ हजार १७६ ऋण लगानी गरेको छ ।
संस्थाको जम्मा सम्पत्ति रु.३२ करोड ९३ लाख ५३ हजार १ सय २९ रहेको छ भने रु.५२ लाख ९१ सय ८ सय ९५ खुद बचत गरेको छ । यस संस्थामा हाल आएर ३ हजार ५९० सेयर संख्या र कर्मचारी संख्या ७ जना रहेको छ ।
संस्थाले सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट समिति सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।

