
बाजुरा- कर्णाली करिडोरमा जिप दुर्घटना भएको छ । शुक्रवार दिउँसो कोल्टी बजारबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जादैँ गरेको जिप दुर्घटना भएको हो ।





जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको बताए । हिमाली गाउँपालिका ६ सिउडी खोलामा दुर्घटना भएको जिपमा सवार चालकसहित ६ जना घाइते भएका प्रहरीले बताएको छ ।




घाइते हुनेमा चालक अन्दाजी २० वर्षका सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी वर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ वर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ वर्षकी अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ वर्षका विज्ञान सार्की छन् । उनीहरुलको कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।
जिप एक्कासि अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथि रुखमा अड्कीएको प्रहरीले जनाएको छ ।