आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन तथा मोतीजयन्ती मनाईदैं





अत्तरिया, २२ भदौ- आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व हो । हिन्दु धर्मशास्त्र अनुसार वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याएर कुशे औँशी मनाउँदैछन् । आजको दिन कुश घरभित्र राख्दा परिवारको कल्याण तथा घर पवित्र हुने धार्मिक जनविश्वास रहेको पाइन्छ ।


आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।



त्यस्तै आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।
बुवाको सम्मान गर्दै मिष्ठान्न भोजन तथा उपहार दिई मुख हेर्ने पनि गरिन्छ । बुवा नहुनेहरुले पितृको तृप्ती तथा कल्याणको कामनाका लागि श्राद्ध तर्पण गर्ने पनि चलन रहेको छ ।
त्यसैगरी आज नै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि मनाईंदैछ । विक्रम सम्बत् १९२३ साल भाद्र कुशे औंशीका दिन जन्मेर वि.सं. १९५३ साल भाद्र कुशे औंसीकै दिन निधन भएका मोतीराम भट्ट माध्यमिक कालीन नेपाली साहित्य र श्रृंगारिक धारका प्रवर्तक मानिन्छन् ।
भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । उनले कबिता, गीत, गजल, नाटक र गद्य लेखेर नेपाली साहित्यको विकासमा महत्वपूणर् योगदान पुर्याएका थिए ।



