कैलाली र कञ्चनपुरका ३२/३२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

धनगढी, २१ भदौ- नेकपा एमालेको विभाजनपछि बनेको नेकपा, एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधिहरु आउने क्रम जारी रहेको छ । दल रोज्न दिइएको समय सकिन एक दिन मात्र बाँकी रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि जनप्रतिनिधिहरु अन्तिम निर्णय लिन थालेका छन् ।

सोमबार दिउँसोसम्म कैलाली र कञ्चनपुरका ६४ जना जनप्रतिनिधिले एकीकृत समाजवादी दल रोज्दै निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर जीवनबहादुर थापासहितका ३२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

Navadurga sun
Godawari sandesh

जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सोमबार दिउँसोसम्म जिल्ला समन्वय समितिकी उपप्रमुख सुन्दरीदेवी चौधरीसहितका ३२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन्। जसमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगर पनि छिन् ।

Dadeldhura hospital

विभिन्न स्थानीय तहका पाँच जना वडाध्यक्षले पनि एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन कार्यालयकाअनुसार धनगढी उपमहागरपालिका-१४ का वडाध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका-५ का वडाध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका-५ का वडाध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका-१ का वडाध्यक्ष गंगाराम आचार्य र मोहन्याल गाउँपालिका-४ का वडाध्यक्ष टेकेन्द्र बोगटी रहेका छन् ।

सनाखत गर्ने बाँकी २४ जना भने वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । मंगलबार साँझसम्म दल रोज्ने जनप्रतिनिधिलाई सनाखत गर्ने समय भएकाले अझै आफ्नो पार्टीमा लाग्नेको संख्या वृद्धि हुने दाबी एकीकृत समाजवादी पार्टीले जनाएको छ । कैलालीका ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचित भएका थिए भने एउटा स्थानीय तहमा प्रमुख मात्र छन् ।

यस्तै कञ्चनपुरमा मेयरसहित ३२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन्। सनाखत गर्ने वडाध्यक्षको संख्या ६ पुगेको छ । बेल्डाँडी गाउँपालिका-१ का वडाध्यक्ष अमर खत्री, पुनर्वास नगरपालिका-१ का प्रताप चन्द, ३ का वडाध्यक्ष कृष्ण तामाङ, कष्णपुर नगरपालिका-३ का वडाध्यक्ष सुन्दर चौधरी र भीमदत्त नगरपालिका-६का वडाध्यक्ष हर्कबहादुर धामी र १८ का वडाध्यक्ष राजेन्द्र पाण्डेले सनाखत गरेका हुन् ।

यी बाहेकका अन्य वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । कञ्चनपुरका ९ स्थानीय तहमध्ये ४ वटामा प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले जितेको छ ।

Loading...