भारतमा ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै
देश विभाजनको पीडा कहिल्यै बिर्सन सकिँदैन : प्रधानमन्त्री मोदी





काठमाडौँ, ३१ साउन- छिमेकी मुलुक भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई बधाईं एवं शुभकामना दिएका छन् ।


स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक समारोहमा प्रधानमन्त्री मोदीले लाल किलाबाट राष्ट्रलाई सम्बोधन गरेका छन् । उनले स्वतन्त्रता हाम्रा लागि उत्सव रहेको बताउँदै तर विभाजनको त्रासलाई बिर्सन समेत नसकिने बताए । ‘देश विभाजनको पीडा कहिल्यै बिर्सन सकिँदैन,’ उनले भने ।


‘घृणा र हिंसाका कारण हाम्रा लाखौं दिदीबहिनी र भाइहरु विस्थापित हुनुपरेको थियो र ज्यान समेत गुमाउनु परेको थियो,’ भारत टुक्रिँएर पाकिस्तान छुट्टिएको दिनको क्षण स्मरण गर्दै मोदीले भने, ‘ती मानिसहरुको संघर्ष र बलिदानको स्मृतिमा १४ अगस्तलाई ‘विभाजन विभिषीका स्मृति दिवस’ को रुपमा मनाउने निर्णय गरिएको छ ।’

सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट भारत मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर गएपछि भारत बेलायती मुक्त भएको हो ।
भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन हिजो (अगस्ट १४) मा पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको छ । त्यसअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा पनि १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका थिए ।
साथै उनले कोरोना महामारीमा खट्ने डाक्टर, नर्स, प्यारामेडिकल स्टाफ, सरसफाइ कर्मचारी र भ्याक्सिन निर्माताहरुलाई पनि श्रद्धापूर्वक सम्मान गर्नु जरुरी रहेको बताए । कोरोना महामारीका कारण, लगातार दोस्रोपटक भारतले सबैभन्दा कम मानिसहरुको उपस्थितिमा आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । अघिल्लो साल पनि कोरोनाकै कारण सीमित मानिसहरुको उपस्थितिमा भारतले ७४ औँ स्वतन्त्रता दिवस मनाएको थियो ।
स्वतन्त्रता दिवसलाई ध्यानमा राखी यसपालि राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ, संवेदनशील क्षेत्रहरुमा एन्टीड्रोन सुरक्षा प्रणाली लागू गरिएको जनाइएको छ ।



