बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

काठमाडौं- बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार गोवाको डोना पाउला क्षेत्रमा रहेको निवासमा अस्वस्थ भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनको ज्यान बचाउन सकेनन्। उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो।

Navadurga sun

नाना पाटेकरको निधनपछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरिएको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको जनाइएको छ। चिकित्सकहरूका अनुसार उनको मृत्युको प्रारम्भिक कारण कार्डियाक अरेस्ट देखिए पनि पोस्टमार्टमपछि थप विवरण स्पष्ट हुने बताइएको छ।

नाना पाटेकरले हिन्दी र मराठी चलचित्रमा करिब पाँच दशक लामो अभिनय यात्रा गरेका थिए। सन् १९८९ मा रिलिज भएको ‘परिन्दा’मा उनले अन्नाको भूमिका निर्वाह गरेका थिए। उक्त भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए।

त्यसपछि सन् १९९४ को ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार तथा सन् १९९६ को ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए। यसरी उनले आफ्नो अभिनय करियरमा तीनवटा राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका थिए। भारतीय सिनेमामा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो।

गम्भीर तथा सशक्त भूमिकाका लागि चर्चित नाना पाटेकर हास्य भूमिकामा पनि उत्तिकै लोकप्रिय थिए। सन् २००७ को ‘वेलकम’मा उनले ग्याङ्स्टर उदय शेट्टीको भूमिका निर्वाह गरेका थिए। उक्त चरित्र निकै लोकप्रिय बनेपछि उनले ‘वेलकम ब्याक’मा पनि सोही भूमिका दोहोर्याएका थिए।

नाना पाटेकरले ‘प्रहार : द फाइनल अट्याक’का लागि भारतीय सेनासँग सैन्य तालिमसमेत लिएका थिए। उनले मराठा लाइट इन्फेन्ट्रीसँग तालिम लिएर सैनिक जीवनलाई नजिकबाट बुझ्ने प्रयास गरेका थिए।

सन् १९९९ को कारगिल युद्धका क्रममा पनि उनी सैनिकहरूसँग बसेका थिए। उनले दुई साताभन्दा बढी समय सैनिकहरूबीच बिताउँदै विभिन्न पोस्टमा पुगेर उनीहरूको हौसला बढाएको बताइन्छ।

अभिनयसँगै सामाजिक कार्यमा समेत सक्रिय नाना पाटेकरले विभिन्न अन्तर्वार्तामा देशका लागि हरेक व्यक्तिले आफ्नो तर्फबाट केही न केही योगदान गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका थिए।

उनको निधनसँगै भारतीय सिनेमा क्षेत्रमा गहिरो क्षति पुगेको छ। उनको विशिष्ट अभिनय शैली, दमदार संवाद प्रस्तुति र सशक्त चरित्रका कारण नाना पाटेकर दर्शकमाझ सदैव स्मरणीय रहनेछन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...