दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयद्वारा गरिब तथा विपन्न विद्यार्थीलाई खाद्यान्न र कपडा वितरण

लक्ष्मी भट्ट/अत्तरिया- श्री दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले गरिब तथा न्यून आय भएका परिवारका विद्यार्थी र अभिभावकलाई लक्षित गरी निःशुल्क खाद्यान्न तथा कपडा वितरण कार्यक्रम सञ्चालन गरेको छ।

विद्यालयले असोज २३ गते सञ्चालन गरेको कार्यक्रममा चामल, दाल, चिनी, नुन, तेल र गहुँको पिठोलगायत खाद्यान्न सामग्री तथा विभिन्न कपडा निःशुल्क वितरण गरेको हो।

Navadurga sun

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताका अनुसार विद्यार्थीको पढाइ कमजोर हुनुका कारणबारे अध्ययन गर्दा पारिवारिक झगडा, गरिबी तथा अभिभावकविहीन अवस्थाजस्ता समस्याले विद्यार्थीको शैक्षिक प्रगतिमा असर पारेको पाइएको थियो।

विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न र उनीहरूको पारिवारिक समस्यामा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक महताले बताए। उनले यस्ता विद्यार्थीलाई प्रत्येक महिनाको अन्त्यमा निरन्तर सहयोग गर्ने योजना रहेको जानकारी दिए। यसका लागि विद्यालयमा खाद्यान्न बैंक तथा कपडा बैंकसमेत स्थापना गरिएको उनले बताए।

“विद्यालयले अरूको देखासिकीमा नभई आफ्ना विद्यार्थीको वास्तविक आवश्यकता र गरिब अभिभावकका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको हो,” प्रधानाध्यापक महताले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको संयुक्त पहल तथा विस्तृत अध्ययनपछि कार्यक्रम लागू गरिएको बताए। उनले कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै आर्थिक रूपमा सक्षम विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य दाताहरूलाई विपन्न विद्यार्थीलाई सहयोग गर्न आग्रह गरे।

भट्टराईले इच्छुक व्यक्ति तथा संस्थाले विद्यालयमा स्थापना गरिएका खाद्यान्न बैंक र कपडा बैंकमा खाद्यान्न तथा कपडा सहयोग गर्न सक्ने बताए।

विद्यालयले सञ्चालन गरेको यस कार्यक्रमले आर्थिक अभावका कारण समस्यामा परेका विद्यार्थीलाई राहत पुग्नुका साथै उनीहरूको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...