काठमाडौं- देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा, चट्याङ्ग, हावाहुरी तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।





आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।
मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि वर्षा र हिमपातको सम्भावना
आज राति देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्भावित वर्षा, चट्याङ्ग र हावाहुरीलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




