काठमाडौं- नजिकिँदो चाडपर्वका बेला आन्तरिक हवाई भाडा बढाइएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीहरूबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को सक्रियतामा प्राधिकरणले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो।



छलफलमा यात्रुलाई स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने सहमति भएको हो। साथै, छुटसहितको टिकट तथा भाडादरबारे जानकारी वायुसेवा कम्पनीहरूले आफ्ना टिकट बिक्री तथा वितरण प्लेटफर्ममार्फत सार्वजनिक गर्ने सहमति भएको छ।
चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको मूल्य बढेको भन्दै यात्रुबाट गुनासो आउन थालेपछि सरकारले भाडादरको विषयमा चासो देखाएको थियो। त्यसैअनुसार प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई छलफलमा बोलाएर टिकट बिक्री तथा भाडादरसम्बन्धी विषयमा सहमति जुटाएको हो।
आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतम भाडादर भने यसअघि नै निर्धारण गरिएको छ। तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट २०७२ मंसिर २७ गते आन्तरिक हवाई सेवाका लागि न्यूनतम र अधिकतम भाडादर निर्धारण गरिएको थियो।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्ने भएका छन्।
