बझाङ- सुदूरपश्चिमको पहाडी जिल्लाको भ्रमण तथा अनुगमनमा रहेका डीआइजी रविन्द्र केसी बझाङ पुगेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक केसीले बिहीबार बझाङमा निरीक्षणसमेत गरेका छन्। उनले जिल्ला प्रहरी कार्यालय बझाङको आन्तरिक तथा बाह्य निरीक्षण एवं बैशाख १५ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य अदको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको जानकारी लिएको बताइएको छ।
उनले मातहत कर्मचारीलाई निर्वाचन शान्त, निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्न निर्देशन पनि दिएका छन्। यस्तै निर्वाचनबाहेक जिल्लामा शान्ति सुरक्षा, अपराध अनुसन्धान, अवैध चोरी निकासी पैठारी नियन्त्रण, सरकारी जग्गा दोहन, लागू औषध ओसार पसार नियन्त्रण, वन पैदावार कटान ओसार पसार, खानी तथा नदीजन्य पदार्थहरुको उत्खनन् ओसार पसार नियन्त्रणमा जोड दिन निर्देशन दिएको बुझिएको छ। यस अगाडि उनले दार्चुला र बैतडीको पनि अनुगमन गरेका थिए। बझाङमा निर्वाचनका लागि प्रहरीसहित सबै सुरक्षा निकायका प्रदेश प्रमुखहरू त्यहाँ पुगेको बताइन्छ।