हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली रही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा भू–क्षय र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
