धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठक व्यवस्थापन गर्न आग्रह गरेका थिए। सोहीअनुसार आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने भएको छ।
बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रदेशसभा सदस्यहरूले प्रस्तावमाथि धारणा राख्ने र मतदान प्रक्रिया अघि बढाइनेछ।
भट्ट गत साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री बनेका भट्टले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा दुई राज्यमन्त्री र सात मन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद्को व्यवस्था भए पनि हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्रै जिम्मेवारीमा छन्। मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।
प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य रहेका छन्।
