धनगढी- सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको छ।
प्रदेशसभा बैठकमा सभालाई सूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित रहेको भन्दै प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि उनको पद रिक्त भएको हो। सभामुखले आगामी प्रदेशसभा बैठकमा यसबारे औपचारिक जानकारी गराउने तयारी गरेका छन्।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। अमेरिकामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहेको बताएका थिए। अमेरिका गएको करिब ११ महिना बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्।
छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए। स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता जनाए पनि त्यसयता चार महिनाभन्दा बढी समय बितिसक्दा उनी नेपाल फर्किएका छैनन्।
प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा २५ वटा बैठक बसेकोमा देउवा ८ वटा बैठकमा मात्रै उपस्थित भएका थिए। त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी उपस्थित भएनन्। पछिल्ला २७ वटा बैठकमा उनको हाजिरी नरहेको सचिवालयको अभिलेखमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेका छन्। तीमध्ये देउवा ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन्।
नेपालको संविधानको धारा १८०(घ) मा प्रदेशसभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० मा पनि यससम्बन्धी व्यवस्था गरिएको छ। सोही कानुनी व्यवस्थाका आधारमा देउवाको प्रदेशसभा सदस्य पद रिक्त गरिएको हो।
यसैबीच, अमेरिकामा रहेका देउवाको खातामा प्रदेशसभा सचिवालयले नियमित रूपमा सेवा–सुविधाबापतको रकम पठाउँदै आएको थियो। सचिवालयका अनुसार ११ महिनाको अवधिमा उनले ७ लाख ५३ हजार ५ सय रुपैयाँ सेवा–सुविधाबापत बुझेका छन्।
