सेती प्रादेशिक अस्पतालमा औषधि, खानेपानी र फोहोर व्यवस्थापनको समस्या

लक्ष्मी भट्ट/अत्तरिया- सुदूरपश्चिम प्रदेशकै प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन्। विशेषगरी गरिब तथा स्वास्थ्य बीमा नभएका बिरामीका लागि पर्याप्त सुविधा नभएको, निःशुल्क उपलब्ध हुनुपर्ने औषधिसमेत अभाव हुने गरेको बिरामीहरूको गुनासो छ।

अस्पतालमा आवश्यक औषधिको पर्याप्त उपलब्धता नहुँदा बिरामीले बाहिरका औषधि पसलबाट औषधि खरिद गर्नुपर्ने अवस्था रहेको बताइएको छ। स्वास्थ्य बीमा भएका बिरामीलाई केही राहत भए पनि स्वास्थ्य बीमा नभएका आर्थिक रूपमा विपन्न बिरामीलाई उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ।

Navadurga sun

अस्पताल परिसरमा फोहोरमैला व्यवस्थापनसमेत प्रभावकारी नभएको तथा खानेपानीको समस्या रहेको बिरामीहरूको गुनासो छ। बिरामीहरूका लागि प्रयोग हुने खानेपानीको धारा बिग्रिएको अवस्थामा रहेको र यसले बिरामी तथा कुरुवालाई थप समस्या भएको बताइएको छ।

सुदूरपश्चिमकै ठूलो अस्पताल भएकाले सेती प्रादेशिक अस्पतालमा दैनिक बिरामीको चाप अत्यधिक हुने गरेको छ। बिरामीको चापअनुसार अस्पतालमा पर्याप्त जनशक्ति र चिकित्सक उपलब्ध नहुँदा समयमै उपचार सेवा दिन कठिनाइ भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका सूचना अधिकारी किशोर प्रसाद श्रेष्ठका अनुसार अस्पतालमा मानसिक रोग विशेषज्ञको सेवा समेत यसै महिनादेखि सुरु भएको छ। उनका अनुसार अस्पतालमा अधिकांश आवश्यक स्वास्थ्य सेवा उपलब्ध छन्। हाल क्याथ ल्याब सेवा मात्र उपलब्ध हुन नसकेको उनले बताए।

सूचना अधिकारी श्रेष्ठले अस्पतालमा बिरामीको चाप र उपलब्ध बेडको अनुपातमा चिकित्सकको संख्या पर्याप्त नभएको बताए। उनका अनुसार हाल सरकारी कोटाबाट ५० बेड, अस्पताल व्यवस्थापन समितिबाट ७५ बेड तथा समिति र प्रदेश सरकारको सहयोगमा थप बेडको व्यवस्था गरी जम्मा ३२० बेडबाट उपचार सेवा सञ्चालन भइरहेको छ।

अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले बेड संख्या थप गर्ने प्रयास भइरहेको पनि सूचना अधिकारी श्रेष्ठले बताए। चिकित्सक तथा स्वास्थ्यकर्मीको कमीका कारण कतिपय अवस्थामा बिरामीलाई समयमै उपचार सेवा उपलब्ध गराउन कठिनाइ भइरहेको उनको भनाइ छ।

एकातर्फ अस्पताल प्रशासनले उपलब्ध स्रोत–साधनबाट अधिकतम सेवा दिइरहेको दाबी गरिरहेको छ भने अर्कोतर्फ बिरामीहरूले औषधि, खानेपानी, सरसफाइ तथा विपन्न बिरामीको उपचार व्यवस्थापनमा थप सुधार आवश्यक रहेको गुनासो गर्दै आएका छन्।

सुदूरपश्चिमका हजारौँ नागरिक उपचारका लागि निर्भर रहने सेती प्रादेशिक अस्पतालमा बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै औषधिको नियमित उपलब्धता, खानेपानी, फोहोरमैला व्यवस्थापन, पर्याप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था र विपन्न बिरामीका लागि थप सहुलियत आवश्यक देखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...