धनगढी- कैलालीमा भन्सार छली गरी ल्याएको आशंकामा ८१ ग्रामभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का ३६ वर्षीय दिपक गौर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले अवैध सुनजस्तो देखिने पदार्थ कारोबारका लागि बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१ बाट उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गौरको खानतलासी गर्दा उनको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौलको सुन बरामद भएको थियो। बरामद सुनको मूल्य २१ लाख ६२ हजार १ सय २३ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत फेला परेको थियो। तर बिलमा पसलको छाप नरहेको तथा बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि प्रहरीले भन्सार छली गरी ल्याएको आशंकामा सुन बरामद गरेको जनाएको छ।
सुनसहित पक्राउ परेका गौरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
