कृष्णपुर नगर कार्यसमितिद्वारा नगरप्रमुख हमालको राजीनामा माग (प्रेस बिज्ञप्ती सहित)




अत्तरिया- नेपाली कांग्रेस नगर कार्यसमिति कृष्णपुर कञ्चनपुरले कृष्णपुर नगरपालिकाका नगरप्रमुख कणर् बहादुर हमालको राजिनामा माग गरेको छ । नगर समितिले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै अनैतिक कार्यमा संलग्न भएको आरोप लागेको भन्दै राजिनामा माग गरेको हो ।


प्रेस विज्ञप्तिमा गैरजिम्मेवार चरित्रहीन कार्य गर्ने नगरप्रमुख पदमा बसिरहन नैतिक रूपले वाञ्छनीय नहुने हाम्रो ठहर भएकोले तत्काल उक्त पदबाट राजिनामा दिई कृष्णपुरको स्वाभिमान बचाउन माग गरिएको छ । विज्ञप्तिमा नगरसमितिले नगरपालिकाकै अभिभावक जस्तो व्यक्तिले शक्ति र श्रोतको दुरुपयोग गरी निन्दनीय अवान्छित क्रियाकलाप गरेको भन्दै घोर आपत्ती समेत जनाएको छ ।


नगर सभापति भक्त बहादुर खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । यस घटनाको बारेमा सत्य निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारवाही गर्न गराउनको लागि सरोकारवाला सम्बन्धित निकायलाई समेत जानकारी अनुरोध गरिन्छ भनिएको छ ।
विज्ञप्तिमा विभिन्न सञ्चार माध्यम र कृतिमा गिरीको फेसबुकमा लगाइको आरोपले गम्भिर ध्यानाकर्षण भएको भन्दै घटनाको छानबिन गर्न माग समेत गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा कृतिमा गिरी नाम गरेकी युवतीले बुधबार ००१ झ ३९९ नम्बरको सेतो प्लेट भएको स्कारपियो गाडीमा आएका ४ जनाले आफ्नो बुबाको होटलमा आएर धम्की दिएको लेखेकी थिइन ।
उनले राती १० बजेर १० मिनेटमा गोदावरीमा रहेको गौरव होटलमा ति ४ जनाले रक्सी मागेको र रक्सी नदिएपछि धम्की दिदै उनीहरुले सरकारी गाडी ल्याएको भन्दै पसल सिल गर्ने बताएको लेखेकी छिन । ती युवतीले सो फेसबुक स्टेटसमा होटलमा आएका ४ जनाको नाम भने खुलाएकी छैनन् ।
कृतिकाको सोही फेसबुक स्टेटसलाई आधार बनाएर बिभिन्न संचार माध्यममा समाचार आएपछि उनले फेरी शुक्रबार अर्को स्टेटसमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन । उनले सो स्टेटसमा लेखेकी छिन ‘ज्यान मार्ने धम्की दिनुभयो । अब हेर्दै जानुस् मेयर सायब (कणर् बहादुर हमाल, कृष्णपुर नगरपालिका कंचनपुर) सत्यता को बिजय हुदो रहेछ कि ज्यान मार्ने धम्की दिदै हिन्ने धुर्त राक्षसको बिजय हुदो रहेछ हेर्दै गरौ ।’
उता नगर प्रमुख हमालले भने बिरामी बोक्नको लागि आफ्नो गाडी प्रयोग गर्न दिईदा दुरुपयोग भएको बताएका छन । उनले बुधबार साँझ स्थानीय रमेश भट्टराईले गोदावरीमा बस्ने बुवा बिरामी भएको भन्दै गाडी मागेको भएपनि पछि त्यसको दुरुपयोग भएको आफूले पनि बिभिन्न सञ्चार माध्यमबाट थाहा पाएको बताएका छन । उनले आफ्नो चालक सो गाडीमा गएको भएपनि आफू सो गाडीमा नभएको बताएका छन ।




