भागरथी हत्याप्रकरण : अभियुक्त दिनेशको ‘डिएनए’ जाँच हुने, अनुसन्धानका लागि ५ दिन म्याद थप





धनगढी- बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपित दिनेश भट्टको ‘डिएनए’ परीक्षणका लागि प्रयोगशाला पठाइने तयारी भएको छ ।


घटना सम्बन्धी थप प्रमाण जुटाउने कार्य भइरहेकाले डिएनए परीक्षण गरिन लागेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । तथ्य र प्रमाण भिडाइरहेकाले अहिले थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।



गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि थप अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद थपेको छ । यसअघि अदालतले ५ दिनको म्याद दिएका थियो ।
उक्त म्यादमा अनुसन्धान नसकिएकाले थप ५ दिनका लागि अनुमति पाइएको बैतडी प्रहरीले बताएको छ । भागरथीका दाजु केशव भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए । कुनैपनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
गत माघ २१ गते दोगडाकेदार गाउँपालिकाको स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी बलात्कारपछि हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गत फागुन ४ गते दिनेश भट्टलाई पक्राउ गरेको थियो । दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको प्रहरीले जनाएको थियो ।
पक्राउ परेका उनले प्रहरीलाई दिएको बयानमा आफूले हत्या गरेको स्वीकार गरेका छन् । भने, सरकारी वकिल कार्यालयले लिएको बयानमा बलात्कारपछि आफैले गरेको स्वीकारेको प्रहरीले बताएको छ । भागरथीको बलात्कारपछि हत्या भएको १७ औँ दिन फागुन ७ गते महाकाली नदीको शेरा आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।



