पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची तथा धादिङ–गोरखा सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा भएको छ। त्यस्तै आरुघाटमा १२४.४, सिन्धुपाल्चोकमा १२३.२ र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

२४ घण्टामा १००–२०० मिलिमिटर वर्षा भएमा धेरै भारी वर्षा मानिन्छ। भारी वर्षाका कारण कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम बढेको विभागले जनाएको छ।
नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। पछिल्लो समय लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको विभागले जनाएको छ।
