अत्तरिया- कैलालीको अत्तरियामा विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च’ को मेगा अडिसन राउन्ड सम्पन्न भएको छ।
अत्तरियास्थित द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थी सहभागी भएका छन्।

विद्यालयस्तरमा सम्पन्न प्रारम्भिक चरण पार गर्दै मेगा राउन्डमा करिब ४ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ। विद्यार्थीमा लुकेर रहेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने तथा उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराले बताए।
प्रतियोगिता अडिसन राउन्ड, मेगा राउन्ड, कोरियोग्राफी, कोरियो राउन्ड, क्वाटरफाइनल, सेमिफाइनल र ग्रान्ड फाइनल गरी सात चरणमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिताको अन्तिम नतिजा निर्णायकहरूको मूल्याङ्कनका आधारमा तय गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार १०५ रुपैयाँ, द्वितीय हुनेले १५ हजार १०५ रुपैयाँ र तृतीय हुनेले १० हजार १०५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
