आज गाईजात्रा पर्व मनाइँदै, मृत आफन्तको सम्झनामा नगर परिक्रमा

काठमाडौं- प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर मनाइँदैछ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन छ। यस क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न तथा द्रव्य दान गर्ने गर्छन्।

Navadurga sun

धार्मिक विश्वासअनुसार गाईको पुच्छर समाएर नगर परिक्रमा गरेमा दिवङ्गत व्यक्तिले वैतरणी नदी पार गरी मोक्ष प्राप्त गर्छन् भन्ने मान्यता रहेको छ।

गाईजात्राको सुरुआत राजा प्रताप मल्लको पालादेखि भएको ऐतिहासिक तथ्य पाइन्छ। पुत्रशोकमा रहेकी रानीलाई अरू परिवारले पनि यस्तै शोक भोगेका छन् भन्ने देखाउन प्रताप मल्लले गाईजात्रा सुरु गराएको जनश्रुति छ। रानीको शोक कम गर्न विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएपछि गाईजात्रामा हाँस्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा विकास भएको मानिन्छ।

गाईजात्राका सहभागीहरू हनुमानढोकास्थित पूर्वराजदरबार क्षेत्र हुँदै नगर परिक्रमा गर्ने परम्परा अहिले पनि कायम छ। काठमाडौँ उपत्यकामा विशेष रौनक देखिने यो पर्व बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका शहरमा समेत धुमधामका साथ मनाइन्छ।

भाद्र कृष्ण अष्टमीसम्म चल्ने पर्वमा प्रहसन, सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृतकको सम्झनामा रामायणका करुण रसका गीत प्रस्तुत गर्ने गरिन्छ।

गाईजात्राको अवसरमा हाँस्य कलाकारहरूले समेत विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन्। काठमाडौँ उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरे पनि यस वर्ष गाईजात्रा शनिबार परेकाले छुट्टै सार्वजनिक बिदा परेको छैन।

ADD Khali jpg
ADD Khali jpg
Loading...