काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।
सशस्त्र प्रहरीले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बेस क्याम्प स्थापना गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।

परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकर्मी, मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन टोली, शिविर समन्वय तथा व्यवस्थापन टोली तथा चिकित्सकसहितको प्राथमिक उपचार टोली रहेका छन्। भत्किएका संरचनामा खोज तथा उद्धारका लागि ४४ सदस्यीय छुट्टै टोलीसमेत परिचालन गरिएको छ।
खोजीकार्यलाई प्रभावकारी बनाउन पाँचवटा ड्रोनसहित विशेष ड्रोन स्क्वाड र सातवटा के–नाइन डग परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा गोताखोर टोलीसमेत खटाइएको छ भने थप जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार एकल प्रयासबाट ३२ जना तथा अन्य सुरक्षा निकायसँगको संयुक्त प्रयासमा १ हजार ४ सय ७३ जनाको सकुशल उद्धार गरिएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीतटीय क्षेत्रका प्रभावित ४८ वडामा रहेका १ हजार २ सयभन्दा बढी विपद् सूचकमार्फत सूचना संकलन गरी उद्धार कार्यलाई व्यवस्थित बनाइएको छ।
प्रभावित नागरिकका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको छ भने राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रिय रहेको छ।
घटनाकै दिनदेखि नुवाकोटमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा हालसम्म १४३ जनाको उपचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रभावित क्षेत्रमा ऊर्जा आपूर्तिका लागि आठवटा जेनेरेटर, आवश्यक इन्धन, पाँचवटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डरसहितका अत्यावश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ। सशस्त्र प्रहरीको एकल प्रयासबाट बाढी प्रभावित क्षेत्रबाट ११० जनाको शव फेला पारिएको जनाइएको छ।
यस्तै, भोटेकोशी बाढीका कारण नुवाकोटमा फसेका ५९ जनालाई सशस्त्र प्रहरीको सवारी साधनमार्फत काठमाडौं ल्याइएको छ।
उद्धार तथा सहायताका लागि सशस्त्र प्रहरी बल नेपालको निःशुल्क हटलाइन १११४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
