अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा करिब चार हजार जनाको सहभागितामा वृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।
विश्वविद्यालयलाई स्वच्छ, व्यवस्थित तथा चिकित्सा शिक्षाका लागि उपयुक्त वातावरण बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानको नेतृत्व नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीले गरेका थिए । कार्यक्रममा रजिस्ट्रार डा. भीम चन्द, प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्द, विश्वविद्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी तथा सशस्त्र प्रहरी बलको टोलीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति जोशीले चिकित्सा शिक्षाको अध्यापन सुरु गर्ने तयारीसँगै सरसफाइ, अनुशासन र व्यवस्थित वातावरणलाई उच्च प्राथमिकतामा राखिएको बताए । उनले सुदूरपश्चिमको स्वास्थ्य तथा शैक्षिक विकासमा विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सेवाग्राहीमैत्री र सुविधासम्पन्न चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाए ।
सरसफाइ अभियानका क्रममा विश्वविद्यालय परिसरका विभिन्न स्थानबाट फोहोर संकलन, झारपात व्यवस्थापन तथा वातावरण सफा गर्ने कार्य गरिएको थियो । आयोजकका अनुसार यस्ता अभियानले विश्वविद्यालय परिसरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षण र सरसफाइप्रति नागरिकमा सकारात्मक चेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
