देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्छ।


विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा केही तराई क्षेत्रमा, साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहने अनुमान गरिएको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले मौसमको पछिल्लो जानकारी नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ।
