बझाङका स्थानीय तहहरूमा हरेक बर्ष बेरुजु रकम बढ्दै, १२ वटा स्थानीय तहको ३३ करोड बढी बेरुजु




बझाङ, १० भदाै– बझाङका स्थानीय तहहरूमा हरेक बर्ष बेरुजु रकम बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार विगतका आर्थिक बर्ष भन्दा पछिल्ला आर्थिक वर्षमा बेरुजु रकम झन बढ्दाे क्रममा रहेको पाईएको छ ।


महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार बझाङका १२ स्थानीय तहको ३३ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ३३ करोड ३६ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ ।


गत आर्थिक वर्ष २०७६/०७७ मा ४६ करोड ७९ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको बझाङका केही स्थानीय तहमा आर्थिक बर्ष २०७७/०७८ मा बेरुजु रकम घटेको छ भने केहीमा बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार बझाङका १२ वटा स्थानीय तहहरू मध्ये सबै भन्दा बढी बेरुजु साईपाल गाउँपालिकामा र सबै भन्दा कम बेरुजु दुर्गाथली गाउँपालिकामा देखिएको छ ।

साईपाल गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ भने कम बेरुजु दुर्गाथली गाउँपालिकामा देखिएको छ। साईपाल गाउँपालिकामा ३८ करोड ९८ लाख ८ हजार लेखापरीक्षण रकम मध्ये १० दशमलव ३९ प्रतिशत अर्थात् ४ करोड ५ लाख १६ हजार बेरुजु देखिएको छ भने सबै भन्दा कम बेरुजु देखिएको दुर्गाथली गाउँपालिकामा ७५ करोड १३ लाख २७ हजार रकमको लेखा परीक्षक भएकोमा 0.७४ प्रतिशत अर्थात् ५५ लाख ९१ हजार बेरुजु देखिएको छ ।
बुङगल नगरपालिकामा १ अर्ब ३८ करोड ३१ लाख ८५ हजार लेखापरीक्षक गरिएको रकम मध्ये ५ करोड ९४ लाख ९ हजार अर्थात् ४.३० प्रतिशत र जयपृथ्वी नगरपालिकामा १ अर्ब २५ करोड २९ लाख ३६ हजार लेखापरीक्षण रकम मध्ये ७ करोड २८ लाख ४१ हजार अर्थात् ५.८१ प्रतिशत बेरुजु देखिएको छ ।
दुर्गाथली गाउँपालिकामा ७५ करोड १३ लाख २७ हजार लेखापरीक्षण गरिएको र जसमध्ये ५५ लाख ९१ हजार अर्थात् ०.७४ प्रतिशत बेरुजु देखिएको छ । विथ्डचिर गाउँपालिकामा ८९ करोड ९४ लाख ९६ हजार मध्ये ४ करोड ८९ लाख ५५ हजार अर्थात् ५.४४ प्रतिशत, थलारा गाउँपालिकामा ९२ करोड ४४ लाख ३९ हजार मध्ये १ करोड ४४ लाख ७६ हजार अर्थात् १.९४ प्रतिशत, छविसपाथीभेरा गाउँपालिकामा ९७ करोड १७ हजार लेखापरीक्षक रकम मध्ये २ करोड ४८ लाख ८ हजार अर्थात् २.५६ प्रतिशत रकम बेरुजु देखिएको हो ।
खप्तडछान्ना गाउँपालिकामा ४ करोड ५ लाख १६ हजार बेरुजु रहेको छ । कुल लेखापरीक्षण गरिएको ८३ करोड ५२ लाख ७० हजारमा बेरुजु आएको रकम ४.८८ प्रतिशत हो । तल्कोट गाउँपालिकामा १ करोड ९२ लाख ५ हजार बेरुजु आएको छ । लेखापरीक्षण गरिएको ७८ करोड २३ लाख ८८ हजारको २.४५ प्रतिशत हो । सुर्मा गाउँपालिकामा ५१ करोड ७३ लाख ९३ हजार मध्ये १ दशमलव ०२ प्रतिशत अर्थात् ५२ लाख ५९ हजार बेरुजु देखिएको छ । मष्टा गाउँपालिकामा ८१ करोड ९० लाख ३३ हजारको लेखापरीक्षक गरिएकोमा ४.२२ प्रतिशत अर्थात् ३ करोड ४५ लाख ७९ हजार बेरुजु आएको छ ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाको सबै भन्दा कम बेरुजु भएको केदारस्युँ गाउँपालिकालाई यस वर्षमा दुर्गाथली गाउँपालिकाले उछिनेको छ । बेरुजु शून्यमा झार्ने लक्ष्य लिएको गाउँपालिकाले यस बर्ष पनि बेरुजु रकम घटाएको छ । गत आर्थिक वर्षमा ०.९९ प्रतिशत बेरुजु भएको केदारस्युँको १ अर्ब ३ करोड ६० लाख ७२ हजारको लेखापरीक्षण भएकोमा ७९ लाख ३१ हजार अर्थात् ०.७७ प्रतिशत बेरुजु आएको छ ।



