हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली रहेको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनसमेत अनुरोध गरिएको छ।
