भोटेकोशी–त्रिशूली–नारायणी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, ६ लाख ७९ हजार एसएमएसबाट पूर्वसूचना
काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा ठूलो बाढी आएको थियो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ।

बाढीको सूचना प्राप्त भएपछि महाशाखाले बिहान ९ः१५ बजेदेखि जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्कता सन्देश तथा एसएमएस पठाउन थालेको थियो। नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रमा ६ लाख ७९ हजार २ सय ९५ वटा पूर्वसूचना एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो। बिहान १०ः२८ बजे बाढी धादिङको गल्छी आसपास पुगेको थियो भने ११ः५० बजे मलेखु बजार आसपास पुगेको थियो। दिउँसो १ बजे बाढीले मुग्लिन पार गरेको र ३ः२० बजे नारायणी नदीको देवघाट क्षेत्रमा पुगेको थियो।
देवघाट जलमापन केन्द्रमा दिउँसो ४ बजे जलसतह ६.५७ मिटर पुगेपछि घट्न थालेको थियो। साँझ ६ः३० बजे देवघाटमा बहाव करिब ४ मिटरको सामान्य अवस्थामा फर्किएको प्रतिवेदनमा जनाइएको छ।
बाढीको तीव्रताका कारण चार वटा स्वचालित जलमापन केन्द्र समेत ध्वस्त भएका छन्। रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखु (फुर्के) जलमापन केन्द्र पुलसहित बाढीले बगाएको महाशाखाले जनाएको छ।
प्रारम्भिक प्राविधिक आँकलनअनुसार देवघाट जलमापन केन्द्रबाट मात्रै बाढीको अवधिमा करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको देखिएको छ।
महाशाखाले रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको नदी तटीय क्षेत्रलाई जोखिमका आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गरी सतर्कता अपनाउन आग्रह गरेको छ। समयमै प्रवाह गरिएको पूर्वसूचनाका कारण धेरै नागरिकले सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ।
