कैलालीको गोदावरी नगरपालिकाको बजेट सर्वसम्मतिले पारित




अत्तरिया, १५ असार- कैलालीको गोदावरी नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि नगर सभामा पेस गरेको आगामी नीति कार्यक्रम तथा बजेट पारित भएको छ । सोमबार बसेको नगर सभाको बैठकवाट आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित गरेको हो ।



असार १० गते नगरपालिकाको सातौ नगर सभामा नगरउपप्रमुख रत्ना कडायतले आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब १८ करोड ७१ लाख ५७ हजार बराबर बजेट प्रस्तुत गरेकी थिइन् । चालु आर्थिक बर्ष २०७७/७८ को भन्दा झन्डै १० करोडले बढि रहेको छ । २ दिन सम्म चलेको नगर सभाको बैठकमा सोमवार नीति कार्यक्रम तथा बजेट पारित भएको उपप्रमुख कडायतले जानकारी दिइन् । कुल बिनियोजित बजेट मध्य चालु तर्फ ६६ करोड २२ लाख ९७ हजार अर्थात ५५ दशमलब ७९ प्रतिशत रहेको छ ।


त्यसैगरी पुँजीगत तर्फ ५२ करोड ४८ लाख ६० हजार अर्थात ४४ दशमलब २१ प्रतिशत रहने अनुमान गरिएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागी स्रोत पनि बजेटमा निर्धारण गरेको छ । जसमा संघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदानबाट २० करोड ३५ लाख ,शसर्त अनुदानबाट ३८ करोड ५ लाख खर्च ब्यहोर्ने अनुमान गरेको छ ।
त्यसैगरी राजस्व बांडफांडबाट १४ करोड ३३ लाख ८१ हजार र बिषेस अनुदानबाट १ करोड को स्रोत आउने नगरपालिकाले अनुमान गरेको छ । प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानीकरण अनुदानबाट प्राप्त हुने १ करोड ५१ लाख ३५ हजार ,प्रदेशबाट बांडफांड हुने राजस्वबाट ५ करोड १० लाख ९९ हजार र आन्तरिक आयबाट ११ करोड ८५ लाख ४२ हजार ५ सय खर्चको स्रोत हुने बजेटमा उल्लेख गरेको छ ।
त्यसैगरी नगरपालिकाले संचित कोषको मौज्दातबाट २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने बजेट मा समाबेश गरिएको छ ।



