अत्तरिया- नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) मा दर्ता भएका निजी तथा सरकारी स्वास्थ्य प्राविधिकलाई विपद्का बेला उद्धार तथा स्वास्थ्य सेवामा जुट्न नेपाल सिएमए संघले अपिल गरेको छ ।
संघले आफ्ना मातहतका सम्पूर्ण सदस्यलाई सम्बन्धित निकायसँग समन्वय गरी प्राथमिक उपचार, औषधि व्यवस्थापन तथा उद्धार कार्यमा व्यवस्थित रूपमा सहयोग गर्न आह्वान गरेको हो ।

संघका कार्यवाहक महासचिव ईश्वरप्रसाद चपाईद्वारा जारी विज्ञप्तिमा बाढी, पहिरो, आगलागी, दुर्घटनालगायत विपद्का घटनामा सिएमए स्वास्थ्यकर्मीहरूले विगतदेखि नै घाइते तथा प्रभावितलाई तत्काल प्राथमिक उपचार प्रदान गर्दै आएको उल्लेख गरिएको छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा चिकित्सकका रूपमा परिचित सिएमए स्वास्थ्यकर्मीहरू विपद्का समयमा स्वयंसेवकका रूपमा खटिँदै आएका छन् । स्थानीयस्तरमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्वास्थ्यकर्मीको परिचालनले विपद्का बेला उपचार सेवामा सहजता पुग्ने संघको विश्वास छ ।
संघले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन, प्राथमिक उपचार र आवश्यक उद्धार कार्यमा सक्रिय सहभागिता जनाउन सदस्यहरूलाई आग्रह गरेको छ ।
त्यस्तै, स्वास्थ्यकर्मीको सुरक्षित तथा व्यवस्थित परिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै संघले स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरेर मानवीय सेवामा सिएमए स्वास्थ्यकर्मीको भूमिका थप प्रभावकारी बनाउने जनाएको छ ।
नेपाल सिएमए संघको केन्द्रीय कार्यसमिति तथा संरक्षक समितिले गरेको उक्त आह्वानबारे संयोजक गणेश जिमी साउदले जानकारी दिएका छन्।
